उपभोक्ता हित प्रवद्र्धनमा कठोर भएर लाग्न मुख्यसचिव डा. अर्यालको निर्देशन
स्वच्छ र प्रतिस्पर्धी बजार निर्माणका लागि सक्रिय छौँ : महानिर्देशक चिलवाल
काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन् ।
उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए ।
बजारमा मूल्य बृद्धि, अखाद्य पदार्थको मिसावट र म्याद गुज्रेका खाद्य सामाग्रीहरुको विगविगी रहेको भन्दै मुख्य सचिव अर्यालले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायहरुले नियमित बजार अनुगमनमा ध्यान दिनुपर्ने बताए ।
कालाबजारी र विचौलियाहरुका कारण पछिल्लो समय चीनी लगायतका खाद्य पदार्थहरुमा अस्वाभाविक रुपमा मूल्यबृद्धि भएको प्रति इंगित गर्दै मुख्यसचिव अर्यालले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवद्र्धनमा कठोर भएर लाग्न निर्देशन समेत दिए ।
मुख्यसचिव अर्यालले बजार मूल्यलाई नियन्त्रण गर्न नेपाल सरकारका निकायहरु जिम्मेवार भएर लागेको जानकारी गराए । उनले भने, ‘साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनी लिमिटेडले बजारमा उपभोग्य सामान विक्रि वितरण गरेको छ । हाल बजारमा रु. १५० पर्ने चीनीलाई सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा रु. ९७ मा उपलब्ध गराएका छौँ ।’
चाडपर्वको समयमा आम उपभोक्तालाई सुपथ मूल्यमा अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउन जरुरी भएको भन्दै उनले साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनीलाई देशभर नै सुपथ मूल्य पसलको पहुँच बनाउन निर्देशन दिएको समेत जानकारी गराए ।
उपभोक्ता स्वयम् सचेत बनेमा उपभोक्ता हित संरक्षण विपरितका गतिविधिमा कमी आउनेमा विश्वस्त हुँदै आफूँ बजारमा नठगिनका लागि सबै उपभोक्तालाई उपभोग्य बस्तुको मूल्य र एक्सपाएर मितिका विषयमा सँधै सचेत रहन सुझाव समेत दिए ।
सुरक्षा सम्वेदनशिलतामा हामी सचेत छौं : एआइजी थापा
काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि सिंगो प्रहरी संगठन सम्वेदनशिल रहेको बताए । चाडपर्वको समयमा सुरक्षा सम्वेदनशिलतामा चुनौती रहने भन्दै थापाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी गराए । चाडपर्वको बेला घर जाने यात्रुहरु ठगिने गरेको भन्दै उनले यात्रुहरुका लागि हेल्प डेस्क राख्ने बताए ।
उपभोक्ता सचेतना जरुरी छ : प्रजिअ बस्नेत
कार्यक्रममा काठमाडौ जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बजार अनुगमन प्रभावकारी बन्नका लागि उपभोक्ता सचेतना जरुरी रहेको बताए । चाडपर्वको बेला उपभोक्ता हित विपरितका कार्य बढ्ने हुँदा वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागले दिएको अधिकारलाई प्रयोग गर्दै अनुगमनका कार्यलाई तिव्रता दिएको बताए ।
बजार अनुगमनका कार्य सबै निकायहरुले समन्वय गरेर गर्नुपर्नेमा जिकिर गरे । उनले भने वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायत सबै निकायहरु मिलेर अनुगमन गरिरहेको भएपनि स्थानीय तहहरुसँग तालमेल हुन नसकेको जानकारी गराए ।
अनुगमनका लागि बजेटको अभाव छ : प्रजिअ पण्डित
कार्यक्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बजेट र स्रोत साधनको अभावका बाबजुद पनि ललितपुरमा बजार अनुगमनको कार्य प्रभावकारी बनाउन लागि परेको बताए । वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागसँगको सहकार्यमा यस आर्थिक वर्षमा ३३ फर्ममा अनुगमन गरेको जानकारी गराउँदै प्रजिअ पण्डितले उपभोक्ता हित विपरितका गतिविधि भएमा आफूँहरुलाई सूचना दिन अपिल गरे ।
उनले बजारका कालाबजारी, अखाद्य पदार्थको मिसावट, अस्वाभाविक मूल्यबृद्धि, पसलको दर्ता र नविकरण नभएको पाइएपनि ललितपुरका स्थानीय सरकारहरुले वेवास्ता गर्नुका साथै असहयोग समेत गर्ने गरेको आरोप लगाए ।
चाडपर्वको समयमा उपभोक्ता ठगिने कार्य बढ्ने हुँदा त्यस्ता गतिविधि रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न अपिल समेत गरे ।
बजार अनुगमनमा नागरिकको दायित्व महत्वपूर्ण हुन्छ : प्रजिअ श्रेष्ठ
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बजार अनुगमनमा नागरिकको दायित्व महत्वपूर्ण हुने बताइन् । उनले भनिन्, ‘हामी एक बस्तुको उत्पादक तथा विक्रेता भएपनि हामी सबै बस्तुको उपभोक्ता हौँ । त्यसैले हामी सबै व्यवसायी तथा व्यापारीहरुले आफ्नो धर्म र मूल्य मान्यतालाई अंगाल्नुपर्दछ । सबै नागरिकहरु जिम्मेवार र जवाफदेही हुन सकेमा अटोमेटिक नियमित बजार अनुगमन हुन्छ, यसैमा कसैको मुख ताक्नु पर्दैन ।’
बजार अनुगमनका लागि पर्याप्त स्रोत, साधन नभएपनि जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुगमन कार्यहरुलाई तीव्रता दिएको बताए । उनले जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेका काम कारबाहीलाई सकारात्मक रुपमा लिनका लागि अनुरोध समेत गरे ।
प्रजिअ श्रेष्ठले बजार अनुगमनका क्रममा फर्म दर्ता र नविकरण भए नभएको, म्याद गुज्रिएका खाद्य पदार्थ, मूल्यसूची देखि भण्डारणको अवस्थाहरुलाई प्राथमिकता दिएर अनुगमनको कार्यलाई तिव्रता दिएको बताए । उद्योग वाणिज्य संघको सहयोगमा भक्तपुर जिल्लामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त टिमले प्रहरी प्रशासनलाई लिएर अनुगमन गर्ने गरेको बताइन् ।
प्रजिअ श्रेष्ठले भक्तपुरमा २६ वटा निकायमा अनुगमन गरेको बताउँदै अनुगमनको क्रममा २ लाख बराबरको मललयायत सामाग्री जफत गरिएको, २ लाख ५२ हजार जरिवाना गरिएको जानकारी गराइन् । कारबाहीका लागि ३ वटा पसल र फर्मलाई कारबाहीको लागि सिफारिस गरिएको छ भने फर्म, पसल, मल, पानी, डेरी र मार्टहरु रहेको जानकारी गराइन् ।
स्वच्छ र प्रतिस्पर्धी बजार निर्माणका लागि सक्रिय छौँ : महानिर्देशक चिलवाल
वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागले स्वच्छ र प्रतिस्पर्धी बजारमा निर्माणमा सक्रिय भएर लागि परेको बताए ।
नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा विभागप्रति आम उपभोक्ताको जुन अपेक्षा रहेको छ, त्यो अपेक्षालाई पूरा गर्न लागि परेको उनको भनाई छ ।
उनले भने, ‘चाडपर्वको बेला उपभोग्य बस्तुको माग बढिरहँदा जुन किसिमको अभाव र मूल्यबृद्धि छ, त्यसलाई लक्षित गरेर व्यावसायिक लक्षित कार्ययोजन तयार गरेको छौँ । जसमा १० वटा अनुगमन टोली खटिएका छन् ।’
अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई समेत अधिकार प्रत्यायोजन गरिएको र अनुगमन कार्य गर्न कुनै कानुनी उल्झन नरहेको बताए ।
हाल मुलुकभर ९ सय भन्दा बढी सरकारी संयन्त्रहरु बजार अनुगमनमा सक्रिय रहेको भएपनि अपेक्षित रुपमा बजार अनुगमन हुन नसकेको बताए ।
महानिर्देशक चिलुवालले बजार मूल्यलाई एकरुपता कायम गर्नका लागि विभागले छिट्टै उपभोग्य बस्तुको मूल्य समेत सार्वजनिक गर्ने बताए ।
कार्यक्रममा बोल्दै साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडका विभागीय प्रमुख ब्रजेश कुमार झाले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनका ल्याएको जानकारी गराए । पछिल्लो समय चीनीको मूल्य प्रतिकेजी १ सय ५० सम्म पुगेकोमा कर्पोरेशनले रु. ९८ मा नै उपलब्ध गराएको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा आयोजना भएको हो । कार्यक्रममा बोल्दै चौलागाईंले बजार अनुगमनलाई फरक फरक निकायले फरक फरक समयमा गर्नुभन्दा एकद्वारा प्रणालीबाट गर्न सके त्यसले आशातित परिणाम दिन सक्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपभोक्ता जागरण नेपालका अध्यक्ष कृष्ण प्रसाद भण्डारी र खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले उपभोक्ताले भोग्नु परेका समस्याहरुका विषय औल्याएका थिए ।
कार्यक्रममा काठमाडौ जिल्लाका प्रहरी प्रमुख भुपेन्द्र खत्री, ललितपुरका प्रहरी सिद्धी विक्रम शाहलगायतका विभिन्न विभागका महानिर्देकहरु, नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुणस्तर विभाग, नापतौल विभागलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।