१० नेपालीको मृत्युमा सरकारद्वारा भोलि राष्ट्रिय शोकको घोषणा

मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने

काठमाडौँ । प्लेस्टाईन हमास समूहको आक्रमणमा परि इजरायलमा मृत्यु भएका १० नेपालीहरूप्रति सम्मान व्यक्त गर्न सरकारले भोलि (असोज २३ गते) राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायलमा भएको अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरूप्रति सम्मानका लागि भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनु भएको छ ।
यस्तै सरकारले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभएको छ ।
मन्त्रिपरिषद् बैठकले इजरायलका द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपालीहरू जो देश फर्किन चाहन्छन् तीनलाई यथाशीघ्र ल्याउने गरी काम गर्ने त्यसका लागि हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्स तयारी अवस्थामा रहेको मन्त्री शर्माले बताउनुभएको छ ।
यस्तै परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतक नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन पहल गर्ने बताइएको छ ।