जीतपुर-सिमराका पुर्वमेयरको मृत्यु ‘रहस्यमय’, शोक मनाउन आज सार्वजनिक बिदा
निजगढ । जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् ।
नेकपा एमालेका नेतासमेत रहेका पुर्व मेयर पौडेल बिहिवार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पुर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो ।
एमाले मधेश प्रदेशका पूर्वसचिवसमेत रहेको पौडेलको मृत्यु रहस्यमयी देखिएको स्थानियहरूले जनाएका छन । यद्यपी, प्रहरीले सो बारेमा छानबिन गरिरहेको जनाएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाले पूर्व नगरप्रमुख पौडेलको निधनमा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ।
उपमहानगरपालिकाका प्रथम नगरप्रमुख पौडेल बिहीबार आफ्नै घरभित्र मृत भेटिएका थिए । उनको शव हाल पोस्टमार्टका लागि वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा लगिएको छ। पौडेल नेकपा एमालेका मधेश प्रदेशका सचिव पनि थिए।
उनको निधनमा जितपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले शुक्रबार बिहान विज्ञप्ति जारी गरी उपमहानगरभित्र शोक बिदा दिइएको जानकारी दिएका हुन्।