कोशी मुख्यमन्त्री कार्कीको सपथ, एमाले र विद्रोही कांग्रेसका एकएक मन्त्री बने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री कार्कीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ ।
शपथ ग्रहण पछि मुख्यमन्त्री केदार कार्कीले नवगठित सरकारले भौतिक विकास संगै मानविय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँले तोकिएको ३० दिन भित्र विश्वासको मत लिने जानकारी दिदै आफु सहमतिको सरकारको पक्षमा रहेको र ९३ जना सांसदहरुको समर्थनबाट सरकार चलाउने प्रयास रहने बताउनु भयो ।
त्यस्तै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेशमा देखिएको जातिय र धार्मिक सद्भाव विरोधी क्रियाकलाप अन्त्य गर्न र सहमतिका आधारमा प्रदेशको विकास र समृद्धिका लागि नवगठित सरकारले काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यसैगरी प्रदेश प्रमुख खापुङले दुई जना मन्त्रीहरु रामबहादुर राना र शमशेर राईलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । नेकपा एमालेका प्रदेश सांसद रामबहादुर राना र नेपाली कांग्रेसका प्रदेश सांसद शमशेर राईलाई मन्त्रीपरिषदमा विना विभागीय मन्त्री बनाइएको हो ।