जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनिकरणका लागि गम्भीर हुुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमाली क्षेत्रमा निकै असर परेको भन्दै असर न्यूनिकरणका लािग गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।

नेपाल कार्वन उत्सर्जनको कारक नहुदा पनि जलवायु परिवर्तनको मारमा परेको बिषयलाई संयुक्त राष्ट्रसंघका महासचिवले विश्वसामू उजागर गर्ने बनाउनु सन्तोषको बिषय भएको उहाँले बताउनुभयो ।
राष्ट्रपति पौडेलले अहिले अहिले विभिन्न २७ हिमाल आरोहणका लागि अनुमति दिएको अवस्थामा अन्य हिमालहरुलाई पनि आरोहण अनुमति दिदै पर्यटन प्रवद्र्धनमा लाग्न सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले पर्वतीय पर्यटनको विकास र प्रर्वद्धनका लागि आवश्यक काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सेतो हिमालको कथालाई विश्वसामू चिनाउनका लागि पूर्खाहरुले बलिदान गरेको बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उहाले विश्व बजार नयाँ ढंगले प्रचार गर्न सके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गर्नुभयो । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिएको र अव यस बिषयमा विश्वको ध्यानाकर्षित गराउनुपर्नेमा उहाले जोड दिनुभयो ।

कार्यक्रममा संघले प्रकाशन गरेको नेपाल पर्वत बुलेटिन बिमोचन गरिएको थियो भने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।