महंगी, भ्रष्टाचार, अनियमितता, अराजकताविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ ।
महंगी, भ्रष्टाचार, अनियमितता, अराजकता, सामाजिक र धार्मिक सहिष्णुता र सदभाव भड्काउने अपराधिक गतिविधि विरुद्ध भन्दै युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको हो । प्रदर्शनका लागि बिभिन्न स्थानबाट एमाले समर्थक र्याली सहित तीनकुनेमा भेला भएका थिए । प्रदर्शनमा युवासंघ बाहेक एमाले निकट बिभिन्न संघ संगठनको सहभागीता रहेको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै एमाले युवा नेता महेश बस्नेतले महंगी, भ्रष्टाचार, अनियमितता बिरुद्ध लगाएको कार्यक्रम भएको बताउनुभयो । आफुहरुको कार्यक्रमलाई कसैले गलत ढंगले प्रयास गर्दैमा दिगभ्रमित हुन नपर्ने उहाले बताउनुभयो । बस्नेतले सरकारको बिरुद्ध आन्दोलन निषेधाज्ञासम्म नपुगोस भनेर आग्रह गर्नुभयो ।

प्रचण्ड सरकारको आयु छाटो रहेकाले उखरमाउलो भएको उहाले टिप्पणी गर्नुभयो । त्यस्तै उहाले दुर्गा प्रसाई जस्ता मान्छे एमालेको बिरोध गरेर रमाइरहेको भन्दै अपराधिक प्रवृतिको पछाडी ज्ञानेन्द्र शाह लागेको तर्क गर्नुभयो ।

बस्नेतले गणतन्त्रको रक्षाका लागि आफुहरुको आन्दोलन भएको पनि बताउनुभयो । त्यसअघि काठमाडौंको माइतिघरमा गर्ने भनिएको प्रदर्शन सुरक्षाका कारण काठमाडौं प्रशासन कार्यालयले तीनकुनेमा आयोजना गर्न स्थान तोकिदिएको थियो ।