सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर विक्री : अमरेश सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर विक्री भएको दावी गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिदविक्री भएको दावी गरेका छन् ।

एनसेल खरिद विक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गर्न खोजिएको उनले बताए । उनले एनसेलको शेयर ५० मिलियन डलरमा विक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको जिकिर गरेका छन् ।

सिंहले एनसेलको शेयर विक्रीमा नेपालका नेताहरुको पनि संलग्नता रहेको आरोप लगाउदै नेताहरुलाई अर्बमा फाइदा भएपनि नेपाली जनतालाई भने खरबौं घाटा लागेको तर्क गरेका छन् ।

उनले एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै अहिले भएको अपारदर्शी खरिद–विक्रि नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने धारणा राखेका छन् ।