गठबन्धनलाई निरन्तरता दिए कांग्रेस पार्टी बिस्तारै सकिन्छ : कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई निरन्तरता दिए कांग्रेस पार्टी बिस्तारै सकिने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा रीता शाहीद्वारा लिखित चिनारी नामक गजल संग्रह बिमोचन गर्दै नेता काइरालाले डेमोक्रेटिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए विस्तारै सकिदै जाने बताउनुभएको हो । उहाले कोइरालाले अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भएपनि चूनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै उहाले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको उहाँले बताउनुभयो । कोइरालाले भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन नसक्ने र जनताको निराशालाई आशामा रुपान्तरण गर्न नसक्ने धारणा राख्नुभयो ।
त्यस्तै कांग्रेस नेता रमेश लेखकले अहिलेको जनतामा देखिएको असन्तुष्टिप्रति कांग्रेस गम्भीर हुनुपर्ने बताउनुभयो । उहाले संविधान र व्यवस्थामाथिको असन्तुष्टिले गम्भीर अर्को दुर्भाग्य हुन सक्ने जिकिर गर्नुभयो ।
नेता लेखकले कुनै पार्टीको बहुमत नआउने विद्यमान समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि बताउनुभयो ।