राष्ट्रिय आकांक्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताउनुभएको छ ।
पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत शुक्रबार पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन–८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताउनुभयो । उहाँले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
अहिलेको सरकारमा हुनेहरूबाट देशको लागि कुनै काम हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ओलीले गठबन्धन सरकारको ध्यान एमालेको बिरोध गर्नेमा मात्रै रहेको र देशको बिकासका लागि कुनै काम गर्ने ध्यान नरहेको आरोप लगाउनुभयो ।
पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको उहाले बताउनुभयो । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको एमालेको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।