विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले बिहीबार राती फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका नेपाली नागरिक चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बिमानस्थलको सुरक्षा कार्यालयको विशेष सहयोगमा छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

चन्द्र घले र उक्त अवैध कार्यमा संलग्न गोरखा घर भएका मिन बहादुर घलेलाई समेत पक्राउ गरि भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको उहाले बताउनुभयो । सुन परिक्षणका लागि भन्सार बिभाग पठाइएको र थप छानविनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरिएको पाण्डेले बताउनुभयो ।

उक्त समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेको पाण्डले बताउनुभयो ।