राष्ट्रियसभा निर्वाचनमा न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा कोइराला समूहको जोड

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको छ ।

बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै रहेको र आफु अनुकुललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको हो ।

यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट बितरणका लागि दवाव दिने निर्णय समेत सो समूहको भेलाले गरेको छ । भेलामा राष्ट्रियसभा निर्वाचन लगाएत पार्टीको आन्तरिक बिषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताउनुभयो ।

उहाले देश र कांग्रेस ठिक ढंगले चल्न नसकेकोमा आफुहरुको ध्यान केन्द्रीत रहेको जिकिर गर्नुभयो । कोइरालाले आफ्नो समूह ठीक ढंगले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको दावी गर्नुभयो ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा आफुहरुको जोड रहेको बताउनुभयो । बैठकमा महासमिति बैठकलाई तोकिएको समयमा नै प्रभावकारी रुपमा गर्नुपर्ने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो । महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला एकमाथि अर्को प्रकरण आउनुलाई सामान्य रुपमा लिन नहुने भन्दै पार्टीभित्र बृहत छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

थापाले कोइराला र आफुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको पनि स्पष्ट पार्नुभयो ।