अहिलेको सरकार २०८४ सम्म टिक्दैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार २०८४ सालसम्म नटिक्ने दावी गर्नुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राका क्रममा बिहीबार र भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारका कारण जनताले दुख पाएको भन्दै ८४ सालसम्म नटिक्ने दावी गर्नुभएको हो ।
सरकार कुहिएको फल जस्तो भएको भन्दै टिप्पणी गर्दै आलीले सरकारको कामबाट सत्तारुढ नेपाली कांग्रेस पनि आजित भइसकेको तर्क गर्नुभयो ।
उहाले कांग्रेसले नै २०८४ सम्म पर्खन नसिकने भनिरहेकाले गठबन्धन कुहिसकेकोले कुनै बेला खस्ने बताउनुभयो । उहाले समृद्ध नेपाल निर्माणको खाका नेकपा एमालेसँग मात्र भएको बताउनुभयो । त्यसका लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमालेले २०८४ निर्वाचनलाई मिसनकै रूपमा लिएको उहाँको भनाइ छ ।
देश अहिले गम्भीर संकटमा रहेको बताउँदै ओलीले देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताउनुभयो । ओलीले संकल्प यात्रामा जनसहभागिता देखेर आफूहरूलाई थप उत्साहित बनाएको बताउनुभयो ।