‘निगमका कारणले इयुले कालोसुचिमा राखेको सत्य होइन’

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना कारणले मात्रै नेपालको हवाई उडानलाई इयूको कालोसूचीमा राखेको भन्ने बिषय सहि नभएको जनाएको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वायुसेवा निगमै कारण नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचीमा कालोसूचीमा राखेको बिषय सहि नभएको बताउनुभएको हो ।

उहाँले पछिल्लो पटक नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न राख्दै पत्र ईयुवाट प्राप्त भएको जिकिर गर्नुभयो । नागरिक उड्डयन प्राधिकरण नियमक निकाय भएकाले प्राधिकरणले एयरलाईन्सलाई समेटेर समस्याको समाधान गर्नुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै अधिकारीले वायुसेवा निगमको जहाज सिड्नी उडाउनका लागि तयारी भइरहेको जानकारी दिनुभयो । ठूला बिमानहरुले निरन्तर उडान भर्दा नियमित गर्न बिमानको अभाव हुने उहाको भनाइ छ । उहाले बजार हस्तक्षेपका साथै सेवा विस्तार गर्न केहि बिमान लिजमा लिने तयारी भइरहेको जानकारी दिनुभयो ।

समितिले नेपालको हवाई क्षेत्रलाई कालोसूची राखिएको बिषयमा विस्तृत रुपमा पुन निगमसंग छलफल गर्ने जनाएको छ ।