मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल : एमाले

काठमाडौं । नेकपा एमालेले पार्टीले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको जनाएको छ ।

संकल्प यात्राका बिषयमा आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको र राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउनुभयो ।

उहाँले जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको भन्दै राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको जिकिर गर्नुभयो । ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको बताउनुभयो । विकासका निम्ति बिभिन्न सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पार्नुभयो ।

नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको ओलीले बताउनुभयो । त्यस्तै ओलीले यात्राको माध्यमबाट एमालेले राष्ट्रिय एकता जगाउने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको ओलीले बताउनुभयो । जनताको बिचमा जाने र जनताको कुरा सुन्ने हिसाबले पनि यात्रा महत्त्वपूर्ण रहेको ओलीले बताउनुभयो । त्यस्तै उहाले यात्राका क्रममा सत्ताको दुरुपयोग पनि बिभिन्न स्थानमा देखिएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले लोकतन्त्र व्यापक प्रणाली र संघीयता त्यसको एउटा पक्ष भएको बताउनुभयो । यात्राको क्रममा जनताले लोकतन्त्रको पक्षमा दृढता राखेको पाइएको ओलीको भनाइ छ । लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन सबै लाग्नु पर्नेमा ओलीले जोड दिनुभयो ।

एमालेले सुशासनको आवाज उठाउदै आएको भन्दै एमाले नेतृत्वको सरकारमा पनि समृद्ध नेपाली सुखी नेपाली आकांक्षका नारा पुरा गर्ने गरि काम गरेको उहाले बताउनुभयो । ओलीले अहिले सरकारको दोहारो चरित्र देखा परेको र वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको आरोप लगाउनुभयो ।

त्यस्तै ओलीले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राको सन्दर्भमा भूगोल र जनताको मागका विषयमा सरकारसँग गम्भीर छलफल गर्ने बताउनुभयो ।