सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रमुख दलका शीर्ष नेतासँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसंग सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनका बिषयमा छलफल गर्नुभएको हो ।

सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल केन्द्रीत रहेको कांग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । उहाले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा देखिएका समस्या समाधान गर्दै छिटै अघि बढाउनुपर्नेमा सवैको जोड रहेको बताउनुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन अवस्थामा छ । शीर्ष तहमा सहमति जुटाएर संसदको आगामी अधिवेशनबाटै पारित गर्ने तयारी गरिएको छ ।