रविको नेतृत्वमा नारायणगढदेखि बुटवलसम्म पैदल यात्रा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइलाई लक्षित गर्दै सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढदेखि बुटवलसम्म पैदल यात्रा सुरु गरेको छ ।

पदयात्रा चितवनको नारायणगढ पुल्चोकबाट सोमबारदेखि सुरु भएको हो । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राको क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य रहेको सभापति लामिछानेले बताउनुभयो ।

यात्रामा पार्टी सभापति लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी छन । दबाब यात्रामा सहभागी हुनेहरुलाई पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न र शुभेच्छुक तथा शुभचिन्तकहरूलाई यात्राको क्रममा भीडभाड नगरिदिन सभापति लामिछानेले आग्रह गर्नुभयो । यस्तै उहाँले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको भन्दै आफूले ऋण लिएको प्रमाण दिन चुनौती दिनुभयो ।

सभापति लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको समेत बताउनुभयो । पोखरामा आफूमाथि भएको मकैको खोया प्रहार वेल प्लान्ड जस्तो देखिएको उहाँको भनाइ छ ।