माक्र्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न सकेनन् : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माक्र्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा माओपछि निकै ठूलो फेरबदल आएपनि माक्र्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताउनुभएको हो ।
उहाँले माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताउनुभयो । उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले विकास, सेवा र सुशासनको क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको भन्दै आफ्नो कार्यकाल दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा ती क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने समेत बताउनुभयो । कामबाट परिणाम निकाल्नका लागि सरकार लागिरहेको भन्दै सिंहदरबारमा मन्त्रालय र सचिवहरूका कामलाई आफैंले समीक्षा र छलफल गरिरहेको उहाँको भनाइ थियो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीले चार महिनाका लागि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरूवात गरिने बताउनुभयो ।