बीस करोडसम्मका परियोजनामा भारत एक्लैले निर्णय गर्न सक्दैन : प्रम दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रु बीस करोडसम्मका परियोजनामा भारत एक्लैले निर्णय गर्न नसक्ने बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले बीस करोडसम्मका परियोजनामा भारत एक्लैले निर्णय नगर्ने भन्दै यसमा नेपालको पनि निर्णय र साझेदारी रहने स्पष्ट पार्नुभयो ।
बिहीबार नेपाल र भारतबीच भारतीय दूतावासलेसमुदायस्तरमा सोझै एउटै परियोजनामा २० करोडसम्म लगानी गर्न सक्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै उहाले विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा रहेको र नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको जिकिर गर्नुभयो । भारतसंग भएका सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुने उहाले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्रीले चिनियाँ प्रतिनिधिको नेपाल भ्रमणबारे चासो राखेको भन्ने कुरा भ्रम प्रचार मात्रै भएको र त्यसबारेमा कुनै कुराकानी नभएको जिकिर गर्नुभयो ।
बैठकमा समिति सदस्य रघुजी पन्तले बीस करोडसम्मका परियोजनामा भारत एक्लैले निर्णयले बैदेशिक हस्तक्षेप निम्त्याउन सक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाले उक्त सम्झौतामा पुनविचार गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्या निवारण गर्न संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक ल्याइएको बताउनुभयो ।