विद्यार्थीहरुको पठन संस्कृति र गुणस्तरमा एकरुपता कायम गर्न सुझाव

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षाको स्तर बढाउनका लागि र विद्यार्थीहरुको पठन संस्कृति र गुणस्तरमा एकरुपता कायम गर्न बिभिन्न सुझावहरु दिएको छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलका क्रममा प्याव्सन, एन प्याव्सन र हिसानले बुँदागत रुपमा सुझावहरु दिएको हो ।

उनीहरुले सामूदायिक विद्यालयको गुणस्तरबृद्धिसंगै नीजि शिक्षालाई पनि प्राथमिकतामा राख्न आग्रह गरेका छन् । शैक्षिक गुठीका रुपमा मात्र निजी लगानीका विद्यालय स्थापना गर्नुपर्ने बिषयलाई संशोधन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्याव्सनका अध्यक्ष डिके ढुङ्गानाले सामूदायीक विद्यालयका विद्यार्थीहरुलाई स्वदेशमा बस्न उत्प्रेरित गर्न कानूनमै आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाले नेपालबाट बर्षेनी सवा लाख बिद्यार्थी पढ्नका लागि बाहिर जाने गरेको अवस्थामा बाहिरबाट पनि विद्यार्थी ल्याएर स्वदेशमा पठनपाठन गराउनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै एनप्याव्सनका अध्यक्ष पाण्डव हमालले विधेयकले व्यवस्थापनलाई भन्दा पढाईलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाले खरवौ लगानी गरेको नीजि शिक्षालयलाई राज्यका तर्फबाट पेल्ने काम गर्न नहुनेमा जोड दिनुभयो ।

समितिले धार्मिक विद्यालयहरु गुरुकुल, मदरसा, गुम्बा, किराँतलगायतका र विशेष शिक्षा सरोकार समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा सोमबार छलफल गर्ने जनाएको छ ।