अन्ततः प्राधिकरण पछि हट्यो, उद्योगहरुमा काटिएको बिजुली जोडिदिने निर्णय
काठमाडौं । करौडौँ बक्यौता नबुझाएका उद्योगको बिजुली काटिदिएको नेपाल विद्युत् प्राधिकरण अन्ततः आफ्नो निर्णयबाट पछि हटेको छ । ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको प्राधिकरणले बक्यौता नउठाइ लाइन जोडिदिने निर्णय गरेको छ ।
६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको प्राधिकरणमाथि काटिएको लाइन जोड्न दबाब आइरहेको बताइएका बेला सो निर्णय भएको हो ।
प्राधिकरणले लाइन काट्ने भएपछि उद्योगीहरु विभिन्न राजनीतिक दलका नेताहरु गुहार्न पुगेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डको पनि ध्यानाकर्षण गराएका थिए । तर, केही समय दिए पनि बक्यौता रकम नबुझाएपछि धमाधम लाइन काटेको प्राधिकरण अन्ततः आफ्नो कदमबाट पछि हटेको छ ।
शुक्रबार बसेको नेपाल विद्युत् प्राधिकरण संचालक समितिले काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको हो ।
काटिएको लाइन जोड्ने मन्त्रिपरिषद निर्णयको पत्र आएपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्नु परेको हो ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले समिति बनाएको छ भने उद्योगहरूको काटिएको बिजुली हाललाई जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।