पृथ्वीजयन्तीमा राप्रपाको चियापान,कुन-कुन नेता पुगे ?

काठमाडौं । पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने लगाएतका विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए ।
त्यस्तै चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता, सर्वसाधारण लगायतको सहभागिता थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गर्नुभएको थियो ।

चियापान कार्यक्रमपछि लिङ्देनले मुलुकलाई एकतावद्ध गर्नेको सम्मान गर्दा कसैले हिनताबोध गर्न नहुने बताउनुभयो । फरक प्रसंगमा उहाले कोशी प्रदेशको सभामुखमा राप्रपा गएको बिषयमा पार्टीभित्र बिभिन्न मत देखिएको भन्दै पार्टीभित्रै छलफल गरेर उचित निर्णयमा पुगिने बताउनुभयो ।

उहाले पार्टीले अघिसारेका बिभिन्न एजेण्डा र मागमा दवाव दिन फाल्गुनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्ने उल्लेख गर्नुभयो । राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।