क्षेत्रपाटीबाट हुण्डी व्यापारी अग्रवाल पक्राउ, थप अनुसन्धान भइरहेको छ: प्रहरी
काठमाडौं । हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन् ।
क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
उनीहरूको साथबाट विभागले दुई करोड तीस लाख नेपाली रकम र दुई हजारजति डलर बरामद भएको ढुंगानाले जानकारी दिए ।
बिहीबार बेलुकाबाट विभागले विशेष अपरेसन चलाएर राति उनीहरूलाई पक्राउ गरेको ढुंगानाले बताए ।
अग्रवाल क्षेत्रपाटीका कपडा व्यवसायी हुन् । उनको क्रिप्टोकरेन्सी, हुण्डी, सुनको शंकास्पद कारोबार रहेको बुझिएको छ ।
‘अवैधानिक कारोबारबारे अहिले अनुसन्धान भइरहेको छ, हामी रकम र कारोबारको कनेक्सनबारे अनुसन्धान गरिरहेका छौं,’ ढुंगानाले भने ।
शंकास्पद अन्य तीन व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेकाले विभागले नाम खुलाएको छैन ।
विभागले बरामद रकम गणना गरिरहेको उनले बताए। ‘दुई हजारजति डलर बरामद भएको छ, अहिले गन्ती गरिरहेका छौं,’ उनले भने ।