संसदीय क्यालेन्डरलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि संसदीय समितिका सभापतिहरुसंग सभामुखको छलफल
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय क्यालेन्डरलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि संसदीय समितिका सभापतिहरुसंग छलफल गर्नुभएको छ ।
आइतबार सिंहदरबारमा संसदको बिषयगत समितिका सभापतिहरुसंग छलफल गर्दै सभामुख घिमिरेले संसदीय क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सुझाव माग्नुभएको हो ।
सुरुमा १५ दिनको क्यालेन्डर बनाएर समिति बैठक र संसद बैठकको कार्यकतालिका बनाउने तयारी भइरहेको सभामुख घिमिरेले जानकारी दिनुभयो । यसअघि संसदीय क्यालेन्डर प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भन्दै उहाले अव क्यालेन्डरका आधारमा संसदीय गतिविधिलाई अघि बढाइने जानकारी दिनुभयो ।
उहाँले संसदको तेश्रो अधिवेशन चाडै बोलाउने तयारी भइरहेकाले विधेयकहरुमाथि छलफल सम्पन्न गरेर आवश्यक तयारी गर्न पनि आग्रह गर्नुभयो । सो क्रममा केहि विधेयकहरुमाथि समझदारी खोज्ने प्रयास भइरहेको रिपोर्ट प्राप्त भएको सभामुखले बताउनुभयो ।
त्यस्तै छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले क्यालेण्डरलाई प्रभावकारी रुपमा लागू गर्ने बिषयमा छलफल भएको जानकारी दिनुभयो । त्यस्तै बिभिन्न समितिहरुमा एउटै बिषयमा छलफल हुने गरेको अवस्थामा यसलाई व्यवस्थीत रुपमा लैजाने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो ।
बैठकमा समिति बैठकमा सञ्चारमाध्यमलाई संयमित बनाउने बिषयमा समेत सभामुखले चासो राख्नुभएको सभापति खतिवडाले बताउनुभयो । छलफलका क्रममा सभामुख घिमिरेले बिभिन्न समितिहरुमा दातृ निकायबाट आउने सहयोगलाई संसद सचिवालयमार्फत कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।