भारतमा आपका नेताहरुको घरमा इडीको छापा, मोदीले प्रतिशोध लिएको आपको आरोप
नयाँ दिल्ली । दिल्लीको मनी लान्ड्रिंग केसमा १२ भन्दा बढी स्थानहरूमा ईडीको छापा हानेको छ ।
आम आदमी पार्टी राज्यसभा सांसद एनडी गुप्तासहितको घरमा ईडीले छापा हानेको हो ।
यसका साथै मुख्यमन्त्री अरविन्द केजरीवालका निजी सचिव विभव कुमारको घरमा पनि छापा मारिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली जल बोर्डका पूर्व सदस्य शलभको घरमा पनि छापा मारिएको छ । यो छापा दिल्ली सरकारका मन्त्री आतिशीको पत्रकार सम्मेलन अघि भएको थियो। आतिषीले ईडीको बारेमा पत्रकार सम्मेलन गर्न लागेकै बेलामा यो छापा हानिएको हो ।
आम आदमी पार्टीका नेताहरू र उनीहरूसँग सम्बद्ध व्यक्तिहरूको मनी लान्ड्रिंग मामिलामा छापा मारिरहेको छ तर अहिलेसम्म ईडीले मनी लान्ड्रिंगको कुन मामिलामा छापा मारेको छ भन्ने स्पष्ट भएको छैन। मुख्यमन्त्री पीएको घरमा छापा मारेको सुनिएको आप नेता आतिशीले बताए । ‘यो के हुदैछ ? हामीलाई धम्की दिने प्रयास भइरहेको छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु कि हामी डराउँदैनौं,’ उनले भने ।