वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताउनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा धारणा राख्दै प्रचण्डले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताउनुभएको हो ।

अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्तिप्रक्रियालाई टुंगोमा पुराउन अन्य दलहरुसंग छलफल भइरहेको प्रचण्डले बताउनुभएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकमा विधान मस्यौदाका बारेमा नेताहरुले धारणा राखेको र कमिटीलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव आएको उहाँले बताउनुभयो ।

त्यस्तै केन्द्रीय समिति १५१ बनाउनुपर्ने प्रस्तावमा छलफल भएको अन्तिम निष्कर्ष विधान सम्मेलनबाटै हुने सापकोटाले जानकारी दिनुभयो । त्यस्तै उहाले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयलाई लिएर गठबन्धनबीच कुनै समस्या नरहेको र पाँचै बर्ष चल्ने दावी गर्नुभयो ।

प्रवक्ता सापकोटाले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जाने पार्टीको तयारी रहेको बताउनुभयो । माओवादी स्थायी कमिटी शनिबार पनि बस्ने छ भने माघ २८ र २९ गते केन्द्रीय कमिटी बैठक र फाल्गुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।