मन्त्रिपरिमण्डल हेरफेर हुँदा तामाङ समूदायबाट मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् ।
सोनाम ल्होछारका अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारका पक्षधर उत्पीडित वर्ग, जाति र समुदायको सहयोग भने संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताएका छन् ।
पहिचान पक्षहरु शक्तिशाली भए आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुने उनले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारेका छन् ।
यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उनले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिएका छन् ।
मुख्यतः संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न उच्च महत्व दिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिमण्डल हेरफेर हुँदा बागमति प्रदेशका तामाङ समूदायबाट मन्त्री बनाइने बताएका छन् ।
माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउने गर्दछन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । यसै अवसरमा काठमाण्डौको टुँडिखेल लागाएत बौद्ध, स्वयम्भू क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।