माओवादी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानमा बारेमा विस्तृत समिक्षा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समिक्षा र दोश्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टी भित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल भएको उनले बताए ।
बैठकमा जनवादको उत्तम अभ्यास भएको र सवै बिषयमा स्थायी कमिटी सदस्यहरुले खुलेर कुरा राखेको प्रवक्ता सापकोटाले उल्लेख गरेका छन् । प्रवक्ता सापकोटाले विधान सम्मेलनमा १३ सय प्रतिनिधिहरुको कुरा सुनेर विधानलाई अन्तिम रुप दिने बताएका छन् ।
त्यस्तै बैठकमा संविधान अनुसार पार्टीको विधि संरचना लगाएतलाई त्यस अनुरुप लैजादै अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका थिए । माओवादीले केन्द्रीय कमिटी माघ २८ र २९ गते र फाल्गुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरेको छ ।