महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै

काठमाडौं । योजनाबद्ध रूपमा करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुल्भु गाउँपालिका-३ घर भई हाल पोखरा महानगरपालिका-३० ढुंगेपाटन बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा पुतली बजार नगरपालिका-४ घर भई हाल कास्की लेखनाथ नगरपालिका-३० बस्ने ४२ वर्षीया मिना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ४३ वर्षीय रविनकुमार थापा र सप्तरी सप्तकोसी नगरपालिका-ट बोहोचे घर भई हाल काठमाडौं-९ सिनामंगल बस्ने ३९ वर्षीय दिलीपकुमार लाभ रहेका छन् ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनका अनुसार थापाविरूद्ध बैंकिङ कसुरमा दुई करोड बिगोको मुद्दा कास्कीमा छ । उनलाई भक्तपुर कमलविनायक नगरपालिकाबाट पक्राउ गरिएको हो ।

दमैविरूद्ध कास्कीमा ९ वटा मुद्दा छन् । उनीविरूद्ध तीन करोड ६५ लाख ५९ हजार रुपैयाँको बैंकिङ कसुर र ठगीसम्बन्धी कसुरको मुद्दा छ । उनलाई सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट पक्राउ गरिएको हो ।

यस्तै, रविनकुमारविरूद्ध बैंकिङ एवम् ठगी सम्बन्धी ७ वटा मुद्दा चितवनमा छन् । उनीविरूद्ध दुई करोड ६० लाख रुपैयाँ बिगो छ । उनलाई सिनामंगलबाट पक्राउ गरिएको रेग्मीले बताए ।

यस्तै, लाभविरूद्ध बैंकिङ कसुरको ११ लाख रुपैयाँको मुद्दा काठमाडौंमा छ । उनलाई पनि प्रहरीले सिनामंगलबाट पक्राउ गरेको रेग्मीले बताए । सुनका गरगहना विदेशमा निर्यात गर्दछौं भन्दै काभ्रेपलान्चोक भुम्लु घर भई जिल्ला कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गरेका थिए ।

ठूलो मात्रामा रकम ठगी गरेको भन्दै वीरेन्द सुनारले कास्की प्रहरीमा दुई करोड बिगोको मुद्दा दर्ता गराएका थिए । कास्की प्रहरीले पक्राउको लागि पत्राचार गरेपछि अनुसन्धान कार्यालयको टोली उनको खोजीमा थिए । कुमार थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मीना दमै, रविन कुमार थापा र दिलीपकुमार लाभको संलग्नता खुलेको रेग्मीले बताए ।

चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख तेस्रोपटक ५० लाखका गहना खरिद गरिएको थियो । यसमा १ करोड ४० लाखका गहना बाहिर निर्यात गर्ने भनी चेक दिएर चारै जना फरार भएका थिए ।

रेग्मीका अनुसार यसपछि उनीहरू भक्तपुर केन्द्रित भए । भक्तपुरको सुडालमा अरू व्यक्तिको नाममा रहेको जग्गा दिलाइदिने भनी दिलीपकुमार लाभले जग्गा बैना गरे ।

उक्त जग्गा परिवार अटो मोबाइलका सञ्चालकसँग निसानको किक्स गाडी लिए । उनी १२ आना जग्गा  दिन्छु भनेर फरार भए । परिवार अटो मोबाइलका सञ्चालक प्रहरीमा पुगे । प्र.०१-०२३-०१४४ नम्बरको निसान किक्स गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकोमा रकम नतिरी बेपत्ता भएको भन्दै उनी प्रहरीमा पुगेका थिए । सो गाडी दिलीपकुमार लाभबाट प्रहरीले कम्पनीलाई नै फिर्ता दिलाएको रेग्मीले बताए ।

उनीहरूले चितवनमा जग्गा दिन्छु भनी  अन्य व्यवसायीहरूको जग्गा बैना गरी १ करोड  ३६ लाख ठगी गरेको पाइएको अनुसन्धानले देखाएको छ । कुमार थापाले मीना दमैलाई देखाएर उनको नामको चेक दिने र उनीबाटै कारोबार गर्ने गरेको पाइएको छ । महिलाबाट कारोबार गर्दा विश्वासमा पर्ने भएकाले उनलाई प्रयोग गरेको खुलेको रेग्मीले बताए ।