ईशनाथमा सद्‌भाव बनाउन चौतर्फी पहल, क्षतिपूर्ति दिलाउने सहमति


रौतहट । पछिल्लो केही दिनदेखि रौतहटमा देखिएको दुई समुदायबीचको तनाव हटाएर सद्भाव कायम राख्न चौतर्फी पहल सुरु भएको छ । दुवै समुदायको भएको क्षतिको पूर्ति दिलाउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासन पूर्ण रूपमा प्रयासरत देखिएका छन् ।

ईशनाथ नगरपालिकास्थित भएको क्षतिबारे बुझ्न स्थानीय प्रशासनले मंगलवार स्थलगत अनुगमन निरीक्षण गरेको छ । सरस्वती माताको मूर्ति विसर्जन गर्ने विषयमा ईशनाथ–७ घिउरा गाउँमा दुई समुदायबीच झडप भएको थियो । हिन्दू समुदायका मानिसले मूर्ति विसर्जनको लागि शनिबार लागिरहेको ट्याक्टर, डिजे बाजा मुस्लिम समुदायका मानिसले तोडफोड गर्नुका साथै घरको छतबाट प्रहार गरेको ढुंगाले कैयौंलाई चोटपटक लागेको थियो ।

सोही घटनाको बदला स्वरूप भोलिपल्ट गत आइतबार हिन्दु युवाहरुले ईशनाथ–२ औरैया गाउँस्थित रहेको मुस्लिमहरूको मस्जिदमाथि चढेर माइक सेट तोडफोड गरेको थियो । रौतहट क्षेत्र २ का संघीय सांसद किरण कुमार साहको सुझावअनुसार मंगलबार स्थानीय प्रशासनले उक्त क्षतिबारे वास्तविक बुझ्न स्थलगत अनुगमन निरीक्षण गरेको हो ।

अनुगमन टोलीमा सांसद किरण साह, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मी, एसपी महेन्द्र श्रेष्ठको सहभागिता थियो । निरीक्षणको क्रममा उक्त घटनाहरुमा भएको क्षतिको  ईशनाथ नगरपालिकाले तत्काल पूर्ति गर्ने सहमति भएको एसपी श्रेष्ठले बताए । 

निरीक्षणपश्चात सांसद साहसहित प्रशासन प्रमुखहरु दुवै समुदायका अगुवासँगै स्थानीयहरुलाई राखेर सद्भाव कायम राख्नेबारे बृहत छलफल भएको थियो । छलफलमा हिन्दू र मुस्लिम अगुवाका साथै सहभागी जनप्रतिनिधिले आआफ्नो समुदायका मानिसलाई सम्झाइबुझाइ अब सबै मानिस मिलेर सौहार्दपूर्ण बस्ने प्रतिवद्धता जनाएका थिए ।

हिन्दू मुस्लिमबीच पुरै भाइचारा निर्वाह गर्ने कुनै सामाजिक समस्या देखिएमा दुवै समुदायका मानिस बसेर छलफल गरी समाधान निकाल्नेसमेत सहमति भएको एसपी श्रेष्ठले जानकारी दिए ।

यसअघि गत शनिबार सरस्वतीको मूर्ति विसर्जनको विषयमा अवस्था तनावग्रस्त हुँदा सिडिओ रेग्मीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए । ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू हालसम्म यथावत छ । एसपी श्रेष्ठले त्यहाँको अवस्थाअनुसार परिचालित प्रहरी घटाउँदै जाने र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू पनि हटाइने जानकारी दिए । 

सो क्षेत्रमा थप अप्रिय हुन नदिन मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डिआईजी सञ्जय यादवसँगै २०० सशस्त्र र ५०० नेपाल प्रहरी गरी ७०० प्रहरी परिचालन गरिएको थियो ।

सांसद साहसँगै अन्य जनप्रतिनिधि, तीनैजना डिआईजीसहित दुवै समुदायका अगुवाहरू मिलेर सोमबार ईशनाथ–७ घिउरा गाउँ छेउको सार्वजनिक पोखरीमा मूर्ति विसर्जनको गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सद्भाव बिग्रिने किसिमको कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्ने आग्रह गर्दै आएको छ ।

  • सञ्जय मिश्रा