कांग्रेसले महासमितिमा सनातन हिन्दु धर्मलाई आधिकारिक एजेण्डा बनाउनुपर्छ : नेता शाही

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य पुष्पकुमार शाहीले सनातन हिन्दु् धर्मलाई कांग्रेसले महासमिति बैठकमा आफ्नो आधिकारिक एजेण्डा बनाउनुपर्ने बताएका छन् ।

२०७२ को संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेकोमा संविधानको उक्त धारा सच्याउनु पर्ने शाहीले बताए । ‘कांग्रेसले सनातम धर्मलाई आत्मसाथ गर्नु लोकतन्त्र, राष्ट्र र जनताको पक्षमा हुन्छ । त्यसैले मुलुकमा हिन्दु राष्ट्र कांग्रेस दृढ हुनुपर्छ,’ उनले भने ।

हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने शाहीको माग छ । हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए । संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको उनले औंल्याए ।

सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन् ।

महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन् । ‘सनातन हिन्दु राष्ट्र नेपाल’ अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन् । २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो । त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन् ।

त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन ।