काठमाडौंमा १९ वर्षीया किशोरबाट १३ वर्षीया बालिका बलात्कृत

काठमाोडौं । कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंको आदेश अनुसार रोशनकुमार शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो। प्रहरी वृत्त, कीर्तिपुरका अनुसार उनले १३ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

आफ्नी जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनलाई तीन दिनसम्म साथी रितिकको कोठामा राखेर पटक-पटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ ।

छोरी नआएपछि प्रहरीसँग सहयोग लिएर खोजतलास गर्दा उनलाई त्यहाँ फेला पारेको आमाले बताएकी छन् । रोशनका साथी रितिकविरुद्ध समेत उनले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको छ ।