नेपालको सामुदायिक विकासमा जापानको सहयोगको महत्वपूर्ण भूमिका : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आइतबार नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५०औँ वार्षिक समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभूत बनाउन नेपाल जाइका अलमनाई एसोसिएसनको भूमिका महत्वपूर्ण रहेको भन्दै जापान नेपालको भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभयो ।
नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पु¥याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपाल र जापानबीच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक संवृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताउनुभयो ।
विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पु¥याउन, जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एसोसिएसनले गरेको योगदान सराहनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले एशोसिएसनले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका क्षेत्रमा काम गरिरहेको भन्दै यस्ता कामलाई थप विस्तार गर्दै लैजानुपर्ने सुझाव दिनुभएको छ ।