राष्ट्रियसभा अध्यक्ष कांग्रेसबाटै हुने दावी

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन् ।

आइतबार सिंहदरबारमा कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा रायमाझीले संसदमा लामो समयदेखि कांग्रेसको नेतृत्व नभएको अवस्थामा अव राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन् ।

उनले कांग्रेसको नेतृत्व नहुदा सूचना लुकाउने लगाएका काम भएकाले अव सहज हुने जिकिर गरेका छन् । उनले राष्ट्रियसभा र समितिहरुमा सहभागीता जनाएर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । रायमाझीले संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण निराशा छाएको भन्दै अव कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताएका छन् ।

त्यस्तै निवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरि काम गर्ने बताए । उनले संविधानको लक्ष्य अनुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहरा निर्वाचित भएका थिए ।