बरिष्ठ गायक तथा संगीतकार आचार्यको निधन
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । अचानक अक्सिजन लेभल कम भएपछि उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।
धनकुटामा जन्मिएका ८१ वर्षक आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए ।
मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । तर, २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए । ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।
आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।