धेरैबर्ष पछि नेपाल निवासमा ओली, सत्ता यात्रामा आउन प्रचण्ड-ओलीको आग्रह
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै बर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् । नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन ।
नेकपा बिभाजन भए पछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन ।
साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल, महासचिव शंकर पौडेल पनि नेपाल निवासमा पुगेका छन् ।
आफूहरुसँग सल्लाह नगरी प्रचण्डले कांग्रेससहितको गठबन्धन छाडेर धोका दिएको भन्दै अध्यक्ष नेपाल असन्तुष्ट छन् । सोमबार मात्रै बसेको माओवादी सचिवालय बैठकले गठबन्धन तोडिएर रुष्ट बनेका अध्यक्ष नेपाललाई फकाएर नयाँ समीकरणमा मिसाउने निर्णय गरेको थियो भने प्रधानमन्त्री दाहाल नेपाल निवासमा पुगेर नयाँ सहयात्रामा जोडिन आग्रह गरेका थिए ।
सोमबार नै एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर कोटेश्वरमै आराम गरिरहेका छन् ।