आज महाशिवरात्रिः पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौं । आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख। महाशिवरात्रि पर्व । पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ।
शिवको अर्थ हुन्छ- कल्याण। भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ। त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन्।
जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि।
व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन्। महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।