कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसबाट गठबन्धन र संविधानविरोधी गतिविधि हुन थालेपछि राजनीतिक समीकरण फेर्न बाध्य भएको बताएका हुन् ।
आगामी निर्वाचनबाट बहुमत ल्याएर सरकार बनाउन कांग्रेसलाई चुनौती दिँदै उनले भने, ‘चार वर्ष बाँकी छँदाको चुनाव एक्लै लडिन्छ जसले पहिलो पार्टी बनाउन मद्दत ग¥यो त्यसको मानमर्दन गर्ने गरी हामी एक्लै लड्छौँ। मैले त अघि नै भने मिल्नुस्, एकताबद्ध भएर जित्नुस् बहुमत ल्याउनुस् मेरो शुभकामना छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् ।
“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”
संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे ।
प्रचण्डले नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेसभित्र ‘युद्धविराम’ भइको टिप्पणी गरेका छनन् ।
‘कांग्रेसको विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ । तर, आज मैले गरेको समीकरणले कांग्रेसभित्र आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु । मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदै छ । यो युद्धविराम प्रचण्डको कारणले भएको छ । यसलाई स्थायी बनाउनुहोला, शान्तिमा बदल्नुहोला,’ उनले भने ।