संविधानमा उल्लेख जनताका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्छ : सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानमा उल्लेख जनताका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्ने बताउनुभएको छ ।
बुधबार राष्ट्रियसभा बैठकमा नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सिटौलाले संविधान उल्लेख जनताका स्वास्थ्य, शिक्षा लगाएतका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्ने बताउनुभएको हो ।
उहाँले संविधान जारी गर्दासम्म सहमतिका आधारमा देशलाई अघि बढाएको भन्दै संविधान जारी भएपनि दलहरुबीचको सहकार्य टुट्दै गएको र स्वार्थ हावी भएकाले आत्मसमिक्षा गर्नुपर्ने धारणा राख्नुभयो । दलहरुको नीजि स्वार्थका कारण संविधान बनेको लामो समय हुँदा पनि रित्तो हात बस्नुपरेको उहाको भनाइ छ । उहाले सत्ता र प्रतिपक्षीलाई एक ठाँउमा राखेर देशको साझा मुद्धामा एक हुनुपर्ने धारणा राख्नुभयो । उहाले नेपाली नागरिक जुनसुकै देशका सेनामा भर्ति हुन सक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य झक्कु सुवेदीले संविधान जारी भएपछि अहिले प्रतिक्रान्तिका झिल्काहरु देखापरेको बताउनुभयो । सरकार निरन्तर परिवर्तन हुन सक्ने भन्दै प्रतिक्रान्तिका झिल्काहरुलाई निष्तेज पार्न सवै दलहरु एक हुनुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले कानून निर्माण, अर्थतन्त्र, युवा पलायन लगाएका मुद्धामा सत्तापक्ष र प्रतिपक्षी एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाले राष्ट्रियसभामा बिभिन्न विधेयकका साथै संकल्प प्रस्ताव प्रस्तुत भएको भन्दै त्यसमा सरकारलाई दिएका निर्देशनको जानकारी लिनुपर्ने धारणा राख्नुभयो ।
स्तरीय कानून निर्माण गर्ने क्रममा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेकाले यसमा अध्यक्षले नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।