राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।
शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न रहेका थिए ।
उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।
कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीलत निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए ।
अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी मंगलबार अपरान्ह दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका थिए । सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
कतारका अमिर शेखको नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।