गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त, विश्वासको मत पाउन सकस
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
जेठ १४ मा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई परमादेश दिएको थियो ।
केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि २१ चैत २०८० मा राजीनामा दिएका थिए ।
त्यसपछि संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाई समेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले २५ चैतमै दाबी पेश गरे र त्यसै दिन प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
विश्वासको मत लिंदा ६० सदस्यीय प्रदेशसभामा ३० जनाले मात्र मुख्यमन्त्रीलाई समर्थन गर्दा पनि सभामुख कृष्ण धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
सभामुखको उक्त निर्णयविरुद्ध पनि कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए । २७ सदस्य रहेको संसद्को ठूलो दल कांग्रेस संसदीय दलका नेता पाण्डेले ५७ दिनमा फेरि मुख्यमन्त्री भएका हुन ।
पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । तर, पाण्डेलाई बहुमत प्राप्त गर्न सहज भने छैन ।
खगराजलाई विश्वासको मत दिने बेला तटस्थ बसेको २ सदस्यीय राप्रपाले पाण्डेलाई साथ दिए पनि थप दुई जना आवश्यक पर्छ । तर राप्रपाले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । स्वतन्त्र सांसद दिपक मनाङलाई मन्त्री दिएमा एक थप हुने निश्चित छ । अर्को एक जना जुटाउन पाण्डेलाई निकै मुस्किल पर्ने छ ।
माओवादीको चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले आफूलाई विश्वासको मत दिनेमा पाण्डे विश्वस्त रहेको उनी निकटस्थले बताएका छन् ।