आफ्नो काममा क्रियाशील हुन जिसस प्रमुख र उपप्रमुखहरुलाई राष्ट्रपति पौडेलको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भूमिकामा आफै क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुखलाई आग्रह गर्नु भएको छ ।

आज बिहान जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले बजेट, योजना र कार्यादेश अनुसार काम भएरनभएको अनुगमन र समन्वय गर्ने काममा क्रियाशील हुन जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुखहरुलाई आग्रह गर्नु भएको हो ।

राष्ट्रपति पौडेलले भन्नुभयो “गाउँ, नगर र वडामा योजना, प्रक्रिया, कार्यादेश अनुसार काम भएरनभएकोबारे अलिकति चनाखो र सजग भएर क्रियाशीलता बढाउने हो भने विकासका काम पनि अघि बढ्छ, बजेट दुरुपयोग पनि रोकिन्छ र राज्यको पनि ध्यान आकर्षित हुन्छ, यसबाट राष्ट्रको विकासमा योगदान पुग्छ ।”

विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको भन्दै राष्ट्रपति पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको स्मरण गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले महासंघको ३० औँ स्थापना दिवस कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गर्नु भएको छ ।