सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गरेका छन् । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरुङको ब्रेक थ्रु गरेका हुन ।
वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको वताउँदै ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना सावित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिएका छन् ।
यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो ।
सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा भएको बताउँदै प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने कुराहरूमा सरकारको ध्यान जाने बताएका छन् ।
प्रधानमन्त्री ओली स्थलगतरूपमा सुरुङको व्रेक थ्रु कार्यक्रम पुग्ने तह भएको थियो । तर स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्रीले बालुवाटारबाट भर्चुअलरूपमा उद्घाटन गरेका छन् ।
कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।