क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरु, यातायात अवरुद्ध हुन नदिने
काठमाडौँ । असोज १० देखि १२ सम्म आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ । बाढीले बीपी राजमार्गको १३ किलोमिटर सडक खण्डमा बढि क्षति पुर्याएको र त्यसमध्ये ८.५ किलोमिटर सडक बगरमा परिणत छ ।
क्षतिग्रस्त बीपी राजमार्गमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरि मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिँदै आएका छन् ।
गत शनिबार मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले स्थलगत निरीक्षण गरेर श्रोत अभाव हुन नदिने भन्दै मर्मत एवम् पुननिर्माणलाई तिव्रता दिन निर्देशन दिएका थिए ।
भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न ठाउँमा सडक विभागले सडक मर्मतको काम भइरहेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताएका छन् ।
सडक खण्ड मर्मतका लागि सडक कार्यालय भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भएका छन् । विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरि क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको भन्दै न्यौपानेले काम नभएका स्थानबाट यन्त्र, उपकरण र जनशक्ति ल्याएर भए पनि कामलाई तिव्र बनाइने बताएका छन् ।
अध्ययनअनुसार ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने देखिएको छ । यो सडक खण्ड भएर दैनिक ३ हजार बढी सवारीसाधन गुड्छन् । चाडबाडको बेला ७ देखि १० हजार हाराहारी सवारीसाधन ओहोरदोहोर गर्छन् ।