मेलम्चीको पाइप फुटेर बबरमहलमा निस्किएको पानी ४ घण्टापछि रोकियो

काठमाडौं । विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि निस्केको पानी ४ घण्टापछि मात्र रोकिएको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकीमा सप्लाई गर्ने ५ सय एमएमको पाइप दिउँसो साढे २ बजे फुटेपछि बबरमहलबाट दक्षिणतर्फका वन कार्यालय, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयका साथै बस्ती समेत डुबानमा परेको थियो ।

उक्त पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि साढे ६ बजे पछि मात्रै पानी बन्द भएको हो । पानीले सडक समेत भासिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए ।