कांग्रेसका संस्थापन पक्षका नेताहरुको देउवा निवासमा भेटघाट, महाधिवेशनबारे छलफल

काठमाडौँ । आगामी महाधिवेशनलाई लिएर नेपाली कांग्रेसमा शेखर कोइराला पक्षले तयारी थालेको लामै समयपछि संस्थापन पक्ष पनि तातेको छ । सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूलाई आफ्नै निवास वुढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन ।
सभापति देउवाले बोलाएको भेलामा गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजय गच्छदार, कृष्ण सिटौला, बालकृष्ण खाण, उमाकान्त चौधरी, एनपी साउद र प्रकाशशरण महत सहभागी भएको र उनीहरुबीच आगामी महाधिवेशनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको एक नेताले बताए ।

पार्टीको आवश्यकतालाई मध्यनजर गर्दै सवै एकजुट भएर महाधिवेशलाई कसरी सुदृढ बनाउने भन्नेमा ध्यान दिएर तयारी थाल्न सभापति देउवाले निर्देशन दिएको एक नेताले बताएका छन् । साथै देउवाले पार्टीको राजनीतिक मूल्यमान्यता र विरासतलाई नभुल्न पनि सम्झाएका छन् ।

देउवालाई दुई–दुईपटक सभापति बनाउन सहयोग गर्ने नेताहरूले देउवा निवासमा भेला भएको एक नेताले बताएका छन् । यस्ता भेटवार्ता बाक्लै बनाउने सहमति भएको बताइएको छ ।