परराष्ट्रमन्त्री डा. देउवा र ओमानका विदेशमन्त्री अलबुसाइदीबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबिच मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ ।

आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र ओमनी समकक्षी अलबुसाइदीबिच आज भेटवार्ता भएको हो ।

त्यसअवसरमा मन्त्री डा देउवाले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटमा नेपाल–ओमान सम्बन्धका विविध पक्ष र विभिन्न क्षेत्रहरू सहकार्य प्रवर्धनका उपायबारे पनि छलफल भएको थियो ।

मन्त्री डा। देउवाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह गर्नुभएको थियो । यसै सन्दर्भमा नेपाल र ओमानबिच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

यस सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।