प्रहरीमा सुधार आवश्यक छ, अब साइत कुरेर बस्दिन, निष्ठापूर्वक काम गर्छु : नवनियुक्त आईजीपी थापा
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले दर्ज्यान्ही चिन्ह ग्रहण गर्दै समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।
आफू प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै उनले संगठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाए । संगठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखी समन्वयात्मक भूमिकाका लाग्ने थापाको भनाइ थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यान्ही चिन्ह प्रदान गर्दै गृहसचिव दुवाडीले बिभिन्न अपराधका घटनाबाट नयाँ चूनौति उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।
मुलुकको शान्तिसुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने उनको भनाइ थियो । थापाले २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक दर्जाबाट आफ्नो प्रहरी सेवा सुरु गरेका हुन् ।