तीनकुने घटना बारे पूर्वराजा ज्ञानेन्द्र : प्रदर्शन भएकोमा खुसी, धनजनको क्षति भएकोमा दुखी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते तीनकुनेमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । तीनकुने हिंसात्मक प्रदर्शनको दुई सातापछि नयाँ वर्षको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै शाहले दुःख व्यक्त गरेका हुन ।

भिडियो सन्देशमा उनले भनेका छन् “समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ। तर केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो ।’

जनतामा जागरूकता पैदा हुनु भने सकारात्मक रहेको बताउँदै भनेका छन् “नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतालाई देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । यसलाई हामीले सकरात्मक लिएका छौँ ।”

चैत १५ गते पूर्वराजा शाहका समर्थकहरूको प्रदर्शन भड्किँदा व्यापक आगजनी, तोडफोड र लुटपाट भएको थियो । सो दिन राजावादीहरूले घरघरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने एक प्रदर्शनकारीको ज्यान गएको थियो ।

२०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको वताउँदै पूर्वराजा ज्ञानेन्द्रले मुलकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको दाबी गरेका छन् ।