शिक्षकहरुको धर्नाले विद्यार्थीहरुको नयाँ भर्ना अभियान प्रभावित
काठमाडौं । राजधानी केन्द्रित शिक्षकहरुको आन्दोलनका कारण नयाँ भर्ना अभियान प्रभावित भएको छ । अधिकांश शिक्षकहरु आन्दोलनमा गएपछि र शिक्षक महासंघले नै विज्ञप्ति निकालेर विद्यालय प्रशासनसम्बन्धि कुनै गतिविधि अघि नबढाउन चेतावनी दिएपपछि भर्ना अभियान प्रभावित भएको हो ।
शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान सुरु भएपनि आन्दोलनले गर्दा नयाँ भर्नासँगै अन्य शैक्षिक गतिविधिहरु ठप्प भएका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु गरिएपनि यो पूर्णरुपमा प्रभावित भएको शैक्षिक अगुवाहरु बताउँछन् ।
शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले भर्ना अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको छ ।