सरकारले नगर्नुपर्ने काम धेरै गरेकाले गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नगर्नुपर्ने काम धेरै गरेको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको दोहोर्याएका छन् ।
बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी पार्टीहरुबीचको सरकार ठूलो उद्देश्यले बनेको भएपनि त्यो उद्देश्य पूरा गर्न ढिला भइरहेको बताएका छन् । यो पटक संविधान संशोधन र सुशासनको एजेण्डामा मिलेकाले दुई ठूला पार्टीको सरकार बनेपनि अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षा थियो त्यो पूरा हुन नसकेको बताएका छन् । उनले अब गम्भीर समीक्षा गर्नैपर्ने अवस्था आएको बताए ।
उनले सरकारले गर्नुपर्ने निर्णय नगरेर नगर्नुपर्ने निर्णय गरिरहेको भन्दै सरकारको आलोचना गरेका उनले कांग्रेस एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको र ०८४ सम्म सरकार अदलबदलमा नलाग्ने प्रष्ट पारेका छन् । उनले कांग्रेस आफ्नो कुरामा इमान्दार रहेको भन्दै अहिलेसम्म सरकार परिवर्तन कांग्रेसको कारणले गर्दा नभएको जिकिर गरेका छन् ।